सातौँ शताब्दीमा काष्ठमण्डप निर्माण गर्दा कै जस्तो प्राचीन प्रविधिमा यसको पुनःनिर्माण सम्पन्न भएको छ । बाँस र डोरी प्रयोग गरेर काठ माथि सम्म लगिएको थियो । आधुनिकरुपमा प्रयोग गरिने ‘हेभी इक्विपमेन्ट’ काष्ठमण्डप पुनःनिर्माणमा प्रयोग नगरी प्राचीन प्रविधिबाट पनि यति ठूला भवन बनाउन सकिन्छ भन्ने सन्देश दिइएको छ ।
प्राचीन प्रविधिबाट नै यस्ता भवन निर्माण गर्नसक्ने जनशक्ति स्वदेशमा अझै छ भन्ने पनि काष्ठमण्डप पुनःनिर्माणले प्रमाणित गरेको छ । समितिका सचिव डङ्गोल प्राचीन स्वरुपमा पुरातात्विक महत्वका सम्पदा बनाउन सक्ने जनशक्तिको संरक्षणमा सरोकार भएका सरकारी निकायले ध्यान दिनुपर्ने बताए । काष्ठमण्डप पुनःनिर्माण व्यवस्थापन, पुँजी र प्रविधि सबै नेपाली नै प्रयोग गरी गरिएको छ । सिमेन्ट प्रयोग नगरी माटोको जोडाइमा निर्माण गरिने पुरातात्विक महत्वका सम्पदा आधुनिक विज्ञानले भने सरह टिक्ने काष्ठण्डपबाट पुष्टि भएको समितिको भनाइ छ । एक हजार ४०० वर्षअघि नेपालमा काष्ठमण्डप निर्माण गर्दा प्रयोग गरिएको प्रविधि आधुनिकरुपमा नयाँ प्रविधिजत्तिकै टिकाउ छ भन्ने बेलायतमा गरिएको परीक्षणबाट प्रमाणित भएको छ ।
धेरै काठ प्रयोग गरेर पुनःनिर्माण गरिएको काष्ठमण्डपमा राखिएका काठ कम्तीमा पनि दुई हजार वर्षसम्म टिक्ने समितिका सचिव गौतम डङ्गोलले जानकारी दिए । समिति अध्यक्ष शाक्यलगायतको समूहले बारा, पर्सा, रौतहट, महोत्तरी, कञ्चनपुरलगायत जिल्लाका जङ्गलमा गएर राम्रा काठ सङ्कलन गरेर ल्याई पुनःनिर्माण सम्पन्न भएको छ । वि.सं. २०७२ वैशाख १२ गतेअघि प्रयोग गरिएका दुई काठ पनि काष्ठमण्डप पुनःनिर्माणमा फेरि प्रयोग गरिएको छ । काष्ठमण्डपमा एउटा एक हजार ६०० वर्ष पुरानो र अर्को एक हजार वर्ष पुराना काठ राखिएको छ । ‘कार्बन डेटिङ’ को प्रमाणका आधारमा बेलायतमा गरिएको परीक्षणका आधारमा दुई काठ कति पुराना हुन् भनी प्रमाणित गर्न सकिएको समितिले जनाएको छ । बीचमा काठका ठूलाठूला चार थामलगायत संरचना सातौँ शताब्दीकै स्वरुपमा बलियो गरी पुनःनिर्माण गरिएको छ । काष्ठमण्डप पुनःनिर्माणमा प्रयोग गरिएका सबै काठ उच्च गुणस्तरका प्रयोग गरिएकाले कम्तीमा दुई हजार वर्षसम्म केही नहुने समितिको विश्वास छ ।
COMMENTS