काठमाडौंं, २४ मंसिर । भारतको राजधानी नयाँदिल्लीमा बाहिरभन्दा घरभित्रको वायु बढी प्रदूषित रहेको एक अध्ययनले देखाएको छ । अध्ययनअनुसार नयाँदिल्लीका घर तथा भवनभित्रको प्रदूषणको तह पीएम २.५ देखिएको छ । यो नजिकैका खुला स्थानमा राखिएका सरकारी वायु प्रदूषण मापनयन्त्रले देखाएको प्रदूषणको मात्राभन्दा बढी हो ।पछिल्ला दिनमा राजधानी नयाँदिल्लीलगायत भारतका मुख्य सहरहरूमा प्रदूषणको मात्रा मानव स्वास्थ्यका लागि निकै हानिकारक देखिएको छ ।
तर सर्वसाधारणहरूले घरभित्र प्रदूषण घटाउन आवश्यक सतर्कता अपनाउने विषयमा वास्ता नगरेका अध्ययन प्रतिवेदनमा उल्लेख छ । संसारको सबैभन्दा प्रदूषित राजधानीको सूचीमा नयाँदिल्ली केही वर्षयता लगातार शीर्ष स्थानमा पर्दै आएको छ ।भारतमा वायु प्रदूषणका कारण वार्षिक १० लाखभन्दा बढी मानिसको अकालमै ज्यान जाने गर्छ । विश्वका सबैभन्दा प्रदूषित ३० सहरमध्ये २२ वटा भारतमा पर्छन् । सरकारी तथ्यांक अनुसार नोभेम्बर महिनामा नयाँदिल्लीको प्रदूषण ६ वर्षयताकै खराब देखिएको थियो । गत नोभेम्बरका ११ मा दिल्लीको वायु प्रदूषणको स्तर सन् २०१६ को नोभेम्बरको १० यताकै खराब रहेको थियो । अमेरिकाको सिकागो विश्वविद्यालयको इनर्जी पोलिसी इन्स्टिच्युट (ईपीआईसी) ले दुई वर्ष लगाएर पछिल्लो अध्ययन गरेको हो ।
ईपीआईसीका अनुसार अध्ययनमा नयाँदिल्लीका फरकफरक आर्थिक–सामाजिक पृष्ठभूमिका हजारौं घरहरूमा अध्ययन गरिएको हो । अध्ययनले धनी र गरिबका घरहरूभित्र पनि वायु प्रदूषण खासै फरक नभएको देखिएको छ ।
गरिबको तुलनामा धनी परिवारमा वायु प्रदूषण कम गर्ने यन्त्र राख्ने सम्भावना १३ प्रतिशत बढी रहेको ईपीआईसीले जनाएको छ । यद्यपि, ती घरमा १० प्रतिशत मात्रै प्रदूषण कम भएको अध्ययनका क्रममा पत्ता लागेको छ । ‘गरिब हुन् वा धनी, कसैले पनि शुद्ध हावामा श्वास फेर्न पाएका छैनन् । नयाँदिल्लीको खास कुरा यही हो,’ प्रमुख अध्ययनकर्ता डा। केनेथ लीले भने, ‘यो निकै दृष्ट चक्र हो ।’ प्रदूषणबाट बच्नका लागि जनचेतना फैल्याउनुको विकल्प नरहेको लीले बताए । ‘जब तपाईलाई घरभित्रको प्रदूषणको मात्रा थाहा हुँदैन तपाईंलाई यसबारे मतलब हुँदैन । जसका कारण सुरक्षित उपाय अपनाउने सम्भावना पनि कम हुन्छ,’ उनले भने ।विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार खराब वायु प्रदूषणका कारण हुने जटिल स्वास्थ्य समस्याका कारण विश्वभर वार्षिक ७० लाख मानिसको अकालमै ज्यान जाने गर्छ ।
यो संख्या धूमपानका कारण हुने ज्यान गुमाउनेको संख्या बराबर हो । वातावरणविद्हरूका अनुसार धेरै मानिसहरूमा वायु प्रदूषणको असर घरभित्रै हुने बताउँछन् । वातावरण संरक्षण एजेन्सी (ईपीए) का अनुसार सामान्यतः घरभित्रको वायु प्रदूषण बाहिरको भन्दा २ देखि ५ प्रतिशत बढी हुने गर्छ ।भारतमा सन् २०१५ देखि मात्रै वायु प्रदूषण मापन गर्न सुरु गरिएको हो । दीपावलीको दिन प्रतिबन्धलाई अटेर गर्दै दिल्लीवासीले पटाकाहरू बाल्दा त्यसको भोलिपल्ट त्यहाँको वायु प्रदूषण उच्च स्तरमा पुगेको थियो । प्रत्येक वर्ष वायु प्रदूषणका लागि जिम्मेवार गहुँ खेतीका लागि खेत तयार गर्न खेतमै पराल बाल्ने कार्य पनि प्रतिबन्धित छ तर यसलाई कडाइका साथ लागू गरिएको छैन ।
COMMENTS