कोरोना विरुद्धको खोपको समस्या छैनः मन्त्री खतिवडा

विराटनगर, ३ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्ध खोप अभियान उच्च प्राथमिकताका साथ सञ्चालन भइरहेको जानकारी दिएका छन् ।

समाजवादी प्रेस सङ्गठन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले खोप अभियान सात वटै प्रदेशमा तालिका बनाएर अझ प्रभावकारी रुपमा सञ्चालन गर्ने नीति सरकारको रहेको बताएका छन् । मन्त्री खतिवडाले कोरोना विरुद्ध खोपको समस्या नरहेको जनाउँदै अहिले चार करोड डोज खोप रहेको बताए । समग्र जनसङ्ख्याका आधारमा ४० प्रतिशत जनताले खोप लगाइसकेको जानकारी दिँदै उनले खोपका लागि अस्थायी डेस्क पनि राखिने बताए । उनले भने “बढी भीडभाड हुने सहरमा नियमित खोप सञ्चालन गर्ने सरकारको तयारी छ । हालसम्म दुई करोड ८० लाख डोज खोप लगाइसकिएको छ । ”

उनले गत पुस ४ देखि १२ वर्षमाथि र १८ वर्षमुनिका बालबालिकालाई खोप लगाउने कार्य सञ्चालन भइसकेको बताए । उनका अनुसार अहिलेसम्ममा दुई डोज खोप लगाउने नागरिकको प्रतिशत ६० पुगेको छ । सरकार ओमिक्रोनको रोकथाम, उपचार एवं नियन्त्रण गर्नका लागि तयारी गरिसकेको जनाउँदै उनले सरकार होल्डिङ सेन्टर निर्माण गर्ने र अस्पतालमा आइसियू, भेन्टिलेटरको व्यवस्थासँगै धेरै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भइसकेको छ भने । कोरोनाको महामारीका समयमा नागरिकले गरेको बीमा लाभग्राहीले प्राप्त गर्न सरकार र कम्पनीसँग छलफल भइरहेको जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board