दमौली, ६ माघ । तनहुँको बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ । होटल र केबलकारको स्तरोन्नति गरिएपछि लगानी बढेको हो । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर रु. दुई अर्ब ६० करोड पुगेको जानकारी दिए ।
यस अगाडि केबलकारको क्षमता प्रतिघण्टा तीन सय रहेकामा त्यसलाई बढाएर पाँच सय पुर्याइएकाे छ । होटलको कोठा सङ्ख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पु¥याइएको छ । शर्माका अनुसार केबलकारको संरचनाको काम ९५ प्रतिशत सकिएको छ । कोरोना कहरका कारण संरचना निर्माणमा ढिलाइ भएको उनले बताए । “दुई वर्षदेखि कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमले धेरै काम प्रभावित भयो”, उनले भने, “कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमकै बीचमा पनि स्वास्थ्यमापदण्ड अपनाएर काम सुचारु गर्दै आएका छौं । ”विसं २०७५ साउन पहिलो साता शिलान्यास भई विसं २०७७ फागुन १ गते केबलकार सञ्चालन गर्ने लक्ष्य लिइएको थियो । तर कोभिड–१९ को प्रभावका कारण उक्त लक्ष्य प्रभावित भएको छ । अब विसं २०७९ फागुन १ गते बटम स्टेशनको सम्पूर्ण काम र केबलकारको सम्पूर्ण काम सकेर व्यावसायिक सञ्चालन गरिने शर्माले जानकारी दिए । कम्पनीले विसं २०७९ वैशाख १ गतेदेखि होटललगायत सम्पूर्ण पूर्वाधार प्याकेजसहित फुलफेजमा पर्यटन पूर्वाधारयुक्त केबलकार परियोजना सञ्चालनमा ल्याउने रणनीति बनाएको थियो । माथिल्लो स्टेशनको बहुआयामिक चारतारे होटलसहितको निर्माण सम्पन्न गरी विसं २०८० असोज १ गते परियोजना मूलयोजना सञ्चालनमा ल्याउने तयारी गरिएको छ । तर कम्पनीले त्यस भन्दा अगावै विसं २०७८ फागुन १ गते रेष्ट्रो जोन जोन सञ्चालनमा ल्याउने भएको छ ।
“केबलकारभित्र रेष्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको अफ आवर साँझ ५ बजेदेखि ९ बजेसम्म यो सेवा दिने तयारीमा छौ,” शर्माले भने । उनका अनुसार तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेण्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा सेवा दिनसक्नेछ । यहाँ ल्याण्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइनेछ । बन्दिपुरको ऐतिहासिकता झल्कने गरी बन्दिपुर घडी, बन्दिपुर गार्डेन बनाउने लक्ष्य लिइएको छ । यस गार्डेनभित्र बटम स्टेशनको पाँच तलामाथिबाट पानीको आकर्षक झरना बनाइनेछ । यसले पर्यटकलाई लोभाउने विश्वास गरिएको शर्माले बताए । यसैगरी वाटर पार्क, म्युजिकल वाटर शो बनाउने लक्ष्य छ । बन्दिपुर गाउँपालिका–४ ठूलाढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबलकारबाट एसियाकै ठूलो दाबी गरिएको बिमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूलाढुङ्गास्वाँराबाट सुरू हुने केबुलकार सिद्धगुफाको छेउहुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केवलकारले एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ ।
आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एण्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केवलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको हो । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीको कम्पनी हो, जहाँ एक हजार एक सय भन्दा बढी लगानीकर्ता रहेका छन् ।
COMMENTS