जिबजिबेको झोलुङ्गे पुल जोखिममा

रसुवा, ७ माघ । प्राकृतिक प्रकोपका कारण दक्षिणी रसुवाको एक झोलुङ्गे पुल जोखिममा परेको छ । कालिका गाउँपालिका वडा नं २ अन्तर्गत घुम्ती बजार–जिबजिबे सडकको डिल भासिएपछि धोबीखोलाको पुल खतरामा परेको हो ।

दुई दशक अगाडिदेखिको पहिरोग्रस्त सो क्षेत्रमा वर्षायाममा पहिरो जाने समस्याले कालिका क्याम्पसका विद्यार्थी एवं जिबजिबे, ज्याङलाङ, सरसिउँ, घोर्मुलगायत गाउँका बासिन्दालाई आवतजावतमा कठिन पर्दै आएको छ । एक सय १७ मिटर लामो झोलुङ्गे पुलको एकातर्फ भागमा जिबजिबे सडकको डिल भासिएपछि संरक्षणमा स्थानीय बासिन्दाले विशेष चासो दिएका छन् । कुनामा लगाइएको यान्त्रिक टेवा पर्खालसमेत लडेका कारण ‘झोलुङ्गेपुल बचाऔँ अभियान’मा जुट्न उपभोक्तालगायत सम्बद्ध सबै पक्षसँंग आग्रह गरिएको नेकपा (माओवादी केन्द्र) का नेता नारायणप्रसाद देवकोटाले बताए । वर्षायाममा निरन्तर पहिरो गइरहनाले पार गर्न स्थानीय बासिन्दालाई प्रत्येक वर्ष तीन महिना सकस हुनाले दुई वर्ष अगाडि गाउँपालिकाले झोलुङ्गे पुल निर्माण गरेको थियो ।

लठ्ठा कसिएको स्थान दह्रो भए पनि माथिको पाखो बग्न थालेका कारण पुल पूर्ण जोखिमावस्थामा छ । वर्षायाममा जिबजिबेदेखि यार्सा गाउँ क्षेत्रका १० हजारभन्दा बढी बासिन्दाले सो पुलबाट आवतजावत गर्छन् । पुल संरक्षणमा सहभागी भइदिनदिन स्थानीय तह, सामाजिक सङ्घसंस्था एवं सरोकार निकायसमेतमा आग्रह गरिएको स्थानीय समाजसेवी देवकोटाले बताए । छिटो उपचार गराउनुपर्ने बिरामी वर्षायाममा काठमाडौँ लान समेत समस्या हुँदै आएको बताइएको छ । हिउँदमा मोटर गुड्ने र वर्षायाम सुरू हुनासाथ पैदलमार्गीसमेत हिँड्न नसक्ने अवस्थाले बढीमात्रामा जिबजिबेबासी ठूलो मर्कामा परिरहेको स्थानीयवासी चिरञ्जीवी पौडेलले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board