लमजुङ, २५ फागुन । लमजुङको सुन्दरबजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा आज बिहान ६ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यू) जारी गरिएको छ ।
सुन्दरबजार-९ स्थित मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा फ्युचर स्टार आवासीय मावि कक्षा १० मा अध्यनरत तनहुँको भानु नगरपालिका-९ घर भएका १७ वर्षीय सनिज श्रेष्ठको मंगलबार मृत्यु भएपश्चात उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको हो । सो क्षेत्रमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । उनका अनुसार सुन्दरबजार-७ को पूर्व-दक्षिणस्थित पाउँदी पुल, पूर्वतर्फ राइनासतर्फको मर्स्याङ्दी नदीको पुल, पश्चिमतर्फ सोही नगरपालिकाको वडा नं ९ को मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना केन्द्रको आवास क्षेत्र अगाडिको पुल र उत्तरतर्फ सोही वडाको सिउँडीबार चोकसमेत चार किल्ला क्षेत्रमा कर्फ्यू जारी जारी गरिएको छ । सोही विद्यालयका शिक्षक सरोज ओलिया र कक्षा १० मै अध्ययनरत सविन गुरुङसँगै पौडी खेल्न गएका थिए । श्रेष्ठ सो विद्यालयको छात्रबासमा बस्दै आएका थिए । उनको पौडी खेल्ने क्रममा मृत्यु भएपछि मृतकका आफन्तले विद्यालयले लापरवाही गरेको भन्दै सो क्षेत्र मंगलबार तनावग्रस्त बनाएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू जारी गरेको हो ।
COMMENTS