सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्नेः शिक्षामन्त्री पौडेल

काठमाडाै, २४ चैत । सरकारले सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सात वटै प्रदेशहरुमा सरकारी मेडिकल कलेज खोल्ने प्रस्ताव क्याविनेटमा पेश गरिएको जानकारी दिएका हुन् ।

मन्त्री पाैडेलले खर्बौ रकम मेडिकल शिक्षा अध्ययनका लागि बाहिरिएको अवस्थालाई मध्यनजर गर्दै सरकारले सबै प्रदेशमा मेडिकल कलेज बनाउने तयारी गर्नु परेको पनि स्पष्ट पारे । नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले जापान, अष्ट्रेलिया, बंगलादेश, चीन र भारतमा मेडिकल शिक्षा पढन जाने विद्यार्थीहरुले बार्षिक रुपमा करिव १ खर्व ९७ अर्व खर्च गरेको देखेपछि त्यसको समिक्षा गरेर सरकारले नेपालमै सो शिक्षा अध्ययनका लागि सरकारी मेडिकल कलेजहरुको स्थापना गरेर अघि बढने निष्कर्ष निकालेको पनि स्मरण गराए । तर सरकारले निजी क्षेत्रको मेडिकल कलेजलाई पनि सँगै लिएर जाने नीति लिएको मन्त्री पौडेलको भनाई छ । मन्त्री पौडेलले निजी क्षेत्रको मेडिकल कलेजलाई विस्थापन गर्ने सरकारको कुनै योजना नरहेको पनि पटकपटक दोहोर्‍याए भने । उनले भने, ‘सात वटा प्रदेशमा सात वटै सरकारी मेडिकल अस्पताल बनाउने प्रस्ताव क्याविनेटमा लगिएको छ । हाम्रोमा ११ वटा युनिभर्सिटी छनभने नचल्ने, विद्यार्थीहरुले नखोज्ने विषय पढाएर के काम ? जबकि ७ हजार विद्यार्थी एमबिबिएस पढन, एमडी पढन बंगलादेश जान्छन । एक वर्षको रकमको हिसाव गर्दा करिव १ खर्व ९७ अर्व रकम चाँही जापान, अष्ट्रेलिया, बंगलादेश, चीन, भारत गएको हामीले पायौं । जतिपनि हाल्न विद्यार्थीहरु तयार छन । गरिव पनि हामी नेपालीहरु छौं । खर्च गर्न पनि तयार छौं । त्यत्रो पैसा बाहिर गएको छ । अनि फर्केर आउने र मेडिकल काउन्सिलको परीक्षा नदिई डाक्टर हुन पाउने । अव हामीले यसलाई समिक्षा गर्‍यौं । र, हामीले सात वटै प्रदेशमा सरकारी मेडिकल कलेज बनाउने तयारी गरेका छौं । निजी क्षेत्रलाई पनि लिएर जानुपर्छ । उनीहरुलाई विस्थापित गर्ने भनेको होइन । त्यसैगरी सिटिईभिटीलाई सबै स्थानीय तहमा पुर्‍याउने गरी तत्काल काम सुरु हुन्छ ।’

मन्त्री पौडेले सिटिईभिटीलाई पनि सबै स्थानीय तहसम्म पुर्‍याउने कामलाई तत्काल अघि बढाउने निर्णय गरिएको बताए । अहिले तत्काल प्रदेशहरुमा को स्थापना गर्ने र त्यसपछि लगत्तै सबै स्थानीय तहहरुमा सिटिईभिटीहरु पुर्‍याउने सरकारको योजना रहेको उनको भनाई थियो । मन्त्री पौडेलले सरकारले शिक्षालाई रोजगारमूलक बनाउने गरी विद्यालय तहको शिक्षादेखि उच्च शिक्षासम्मको नीतिलाई परिमार्जन गर्ने कामलाई अघि बढाएको पनि बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board