ओलीको कुर्सीको टेको भाँच्चियो, व्यक्तिवाद र अहंकार प्रवृत्तिले इमान्दार र असल बस्नै नसक्नेः माधव नेपाल

काठमाडौं, १० बैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको कुर्सीको एउटा खुट्टा भाँच्चिएको बताएका छन् ।

नेकपा स्थापना दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकपछि अर्को गर्दै ओलीको पार्टीका मानिसहरु धमाधम आफ्नो पार्टीमा प्रवेश गरेकाले ओलीको कुर्सीको खुट्टा भाँच्चिएको बताएका हुन् । ‘केपी ओलीलाई हामीभन्दा पनि नजिकबाट देख्नुभएको छ । एक समय उहाँ केपी ओलीसँग चुर्लुम्म डुब्नुभएको हो, अनि वाक्क दिक्क हुनुभयो र अहिले पार लाग्दैन भनेर यता आउनुभयो’, एमाले छाडेका पिताम्बर तिमल्सिनालाई देखाउँदै नेपालले भने, ‘केपी ओलीको कुर्सीको एउटा टेको भाँच्चियो । अर्को खुट्टा पनि बलियो छैन ।’ पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले केपी ओलीको व्यक्तिवाद र अहंकार प्रवृत्तिका अगाडी इमान्दार र असल मानिसहरु बस्नै नसक्ने बताए । उनले ओली प्रवृत्तिका कारण एमालेकै भविष्य सकिएको पनि बताए । ‘नेकपा एमाले भन्ने पार्टीमा कुनै क्रान्तिकारिता रहेन, त्यहाँ कुनै कम्युनिस्ट चरित्र छँदै छैन, त्यसैले एमालेको भविष्य छैन’, अध्यक्ष नेपालको भनाइ छ । कार्यक्रममा अध्यक्ष नेपालले एमाले पार्टी छोडेर समाजवादी प्रवेश गरेका राष्ट्रिय खेलकुद परिषदका पूर्व उपाध्यक्षलाई स्वागत गरेका थिए । नेता नेपालले वैशाख ३० मा हुने स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धनका बीचमा छलफल चलिरहे पनि त्यो छलफल त्यति उत्सावर्द्धक नभएको बताए । ‘स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धनका बीचमा हाम्रो छलफल चलिरहेको छ, तर त्यो छलफल त्यति उत्साहवर्द्धक छैन’, अध्यक्ष नेपालको भनाइ छ । पहिलो चरणको सहमति भने उत्साहवर्द्धक रहेको नेपालको भनाइ छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board