सिन्धुली । नेकपा (एमाले) सिन्धुलीले आगामी वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । एमालेले शनिबार राति सहमति हुन बाँकी ५ पालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवारहरुको नाम टुंगो लगाएको हो ।
नेकपा (एमाले) सिन्धुलीका प्रचार विभाग प्रमुख सञ्जय दाहालका अनुसार एमालेले कमलामाई नगरपालिकाको मेयरमा महेन्द्रदेव श्रेष्ठ र उपमेयरमा मञ्जु देवकोटालाई छनोट गरेको छ । देवकोटा हाल कार्यरत उपमेयर हुन् । यस्तै, दुधौली नगरपालिकाको मेयरमा लक्ष्मण कार्की र उपमेयरमा बालकुमारी अधिकारीलाई टिकट दिएको छ ।
एमालेले फिक्कल गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनुवारलाई यो पटक अध्यक्ष बनाउने भएको छ । उपाध्यक्षमा राजु बराललाई छनोट गरेको छ । यसैगरी तीनपाटन गाउँपालिकाको अध्यक्षमा छत्र दाहा र उपाध्यक्ष पदमा पदममाया तामाङलाई अघि सारिएको छ ।
यस्तै, एमालेले सुनकोसी गाउँपालिकाको अध्यक्षमा अशोक गिरी र उपाध्यक्षमा हेमा अधिकारीलाई उठाउने निर्णय गरेको छ ।
एमालेले गोलन्जोर, मरिण, घ्याङलेख र हरिहरपुरगढी गाउँपालिकामा यसअघि नै सर्वसम्मत उम्मेदवार छनोट गरिसकेको छ ।
एमालेले आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि आजै मनोनय दर्ता गर्ने जनाएको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आइतबार र सोमबार दुई दिन समय दिएको छ ।
COMMENTS