काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षको आजदेखि अनिवार्य अवकाश हुँदैछ ।
दुवै सुरक्षा निकायको प्रमुखको अनिवार्य अवकाश हुने भएपछि सरकारले आजै आइजीपी नियुक्ति गर्ने तयारी गरेको छ । त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दलहरुसँग सहमतिको प्रयास थालेका छन् ।
बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुसँग छलफल गरेका छन् । नयाँ आइजीपी नियुक्तिका लागि सहमति जुटाउन गृहमन्त्री बालकृष्ण खाँणसहित सत्ता गठबन्धनका शीर्ष नेता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भएका छन् ।
दुवै आइजीपी ३० वर्षे सेवा अवधिका कारण प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी आजदेखि अनिवार्य अवकाशमा जाँदैछन्।
यसैले नयाँ नियुक्तिका लागि आज मन्त्रिपरिषदको बैठक बस्दैछ। त्यसअघि सत्ता गठबन्धनमा सहमति जुटाउन बालुवाटारमा बैठक बसिरहेको हो ।
सशस्त्र प्रहरी बलतर्फ भने डीआईजी राजु अर्याल आईजीपी बन्ने पक्का भइसकेको छ। सशस्त्र प्रहरीको नेतृत्वमा ल्याउन उनलाई केही दिनअघि मात्रै अतिरिक्त महानिरीक्षकमा एकल बढुवा गरिएको हो।
नेपाल प्रहरीतर्फ भने फरकफरक मितिमा बढुवा भएका एआइजीहरु विश्वराज पोखरेल, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुक प्रहरी महानिरीक्षकका लागि प्रतिस्पर्धामा छन् ।
पोखरेल २०७७ मंसिर २५ मा एआईजीमा बढुवा भएका थिए । थापा गत असार २४ मा तथा सिंह र धानुक गत चैत ७ मा एआईजी बढुवा भएका हुन् ।
COMMENTS