नेपालमा अमेरिकी अधिकारीको भ्रमण बाक्लियो, जेठ पहिलो साता उपविदेशमन्त्री आउँदै

काठमाडौं । पछिल्लो समय अमेरिकी अधिकारीहरुको नेपाल विशेष गन्तव्य बन्दै गएको पाइएको छ ।

एकपछि अर्को गर्दै अमेरिकी अधिकारीहरु नेपाल आउने मिति तय भएको छ ।

तिब्बत मामिलासमेत हेर्ने अमेरिकी उपविदेशमन्त्री उज्रा जिया आगामी जेठको पहिलो साता नेपाल आउने लगभग पक्का भएको छ ।

जिया जेठ ६ गतेदेखि ८ गतेसम्म नेपाल भ्रमणमा रहने परराष्ट्र मन्त्रलय स्रोतको भनाइ छ । यसबारे औपचारिक मिति घोषणा भने गरिएको छैन ।

जियाको भ्रमण नेपाल—अमेरिकाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७५औं वार्षिक उत्सवका अवसरमा अमेरिकी अधिकारीको नेपाल भ्रमणकै एउटा पाटो रहेको बताइएको छ ।

जियालाई चीन र दलाई लामा वा उनका प्रतिनिधिबीच निःसर्त वार्ताका लागि संवादलाई प्रोत्साहन गर्ने जिम्मेवारी समेत छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले जियालाई गत डिसेम्बर २० मा तिब्बती मामिला हेर्ने विशेष संयोजक नियुक्त गरेका थिए ।

यसैबीच, एमसीसीका नायव उपाध्यक्ष जोनाथन ब्रुक्सल अहिले नेपाल भ्रमणमै छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शुक्रबार भेटेर एमसीसी अन्तर्गतका परियोजना कार्यान्वयन अवस्थाबारे छलफल गरेका छन् ।

गतसाता अमेरिकाका पाँच सांसदले नेपाल भ्रमण गरेर नेपालले युक्रेन मामिलामा लिएको ‘पोजिसन’ को सराहना गर्न भ्याए। उक्त सांसद टोली आउनु चार दिनअघि अमेरिकी उपसहायकमन्त्री केली केडरलिङ काठमाडौंमै थिइन्। उनले परराष्ट्रमन्त्री डा. खड्कासँग भेटेकी थिइन्।​

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board