सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी विमलराज कँडेलकै कार्यकक्षमा अनसन बसेका मानवअधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेलको सम्मान गर्न सो संस्थाले माग गरेको छ ।
निर्दोष व्यक्तिहरुलाई झुटा मुद्दामा फसाइएको भन्दै मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष पौडेल हिजोदेखि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनसनरत छन् ।
एलायन्सका उपाध्यक्ष नवराज पहाडीले विज्ञप्ति जारी गर्दै निर्दोष व्यक्तिको सहज रिहाई गरी अध्यक्ष पौडेलको सम्मान गर्न आग्रह गरिएको हो ।
गत बैशाख १५ गते दुधौली नगरपालिका–२ भलुवाहीमा भएको घटनाले निर्वाचनलाई असर पर्ने भन्दै प्रहरीले पौडेललाई समन्वय गरिदिन अनुरोध गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक विमलराज कडेलले रिलिफ नेपाल सिन्धुलीका अध्यक्ष तथा स्थानीय समेत रहेका पौडेललाई सो घटनामा मध्यस्तकर्ताको भुमीका निर्वाह गर्न आग्रह गरेका थिए ।
प्रहरी उपरीक्षक कडेलले चिनजान र विश्वासका आधारमा केही व्यक्तिलाई ल्याएर हाजिर गराउने र एक रातमा सो घटना मिलापत्र गराउने आफु समक्ष प्रतिबद्धता गरेको पौडेलले बताए ।
नेकपा एमाले सिन्धुलीका इन्चार्ज गणेश पहाडी, जिल्ला अध्यक्ष रामकुमार कार्कीसँग पनि तत्काल घटना मिलाएर निर्वाचनका गतिविधिलाई सहज बनाउने प्रस्ताव एसपी कँडेलले गरेका थिए ।
अध्यक्ष कार्कीले पक्राउ पुर्जी जारी गरेका कार्यकर्ता ल्याए कानुनी प्रक्रिया अघि बढ्ने भन्दै उक्त प्रस्ताव अस्वीकार गरेका थिए । एसपी कँडेलले प्रतिवद्धता गरेपछि पार्टीको आग्रहमा पौडेलले चार जनालाई बैशाख २५ गते जिल्ला प्रहरी कार्यालयमा हाजिर गराउन सहयोग गरेका थिए ।
प्रहरीले भोलिपल्ट बिहान कार्यालय समयमा छुटाउने प्रतिबद्धता गरेको भएपनि बैशाख २६ गते ७ दिनको म्याद थपेपछि प्रहरीले विना कारण आफुलाई फसाएको भन्दै आफुसँगको प्रतिबद्धता कार्यान्वयनको माग गर्दै पौडेल प्रहरी उपरीक्षक कडेलको कार्यकक्षमा आमरण अनसन बसेका हुन् ।
प्रहरीले निर्दोष स्थानीयलाई पक्राउ गरी मुद्धा चलाएको भन्दै पौडेल जिल्ला प्रहरी कार्यालयस्थित एसपी चेम्बरमा मङ्गलबार बिहान ७ बजेबाट आमरण अनशन बसेका हुन ।
समस्या समाधानका लागि सहजीकरणको भूमिका निर्वाह गरेका पौडेललाई प्रहरीले नै फसाउन षड्यन्त्र गरेको भन्दै अनशन बसेको उनले बताए ।
उनले घटनालाई राजनीतिकरण नगर्न र सामान्य व्यक्तिहरुलाई झुठ्ठा मुद्धामा नफसाउन प्रहरीलाई आग्रह गरेका छन ।
एमाले जिल्ला इन्चार्ज गणेश पहाडीले प्रहरी उपरीक्षक कँडेलले कांग्रेसको कार्यकर्ता झै व्यवहार गरेको बताए । पदको मर्यादा विपरित प्रहरीले राजनीतिक पूर्वाग्रह राखी एमालेका निर्दोष कार्यकर्तालाई फसाउने षड्यन्त्र गरेको भन्दै एमालेले सो घटनाको विरोध गर्दै आएको छ ।
COMMENTS