वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिंहको अग्रता कायमै

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले १८ हजार ३९३ मतसहित आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् । नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगी नौ हजार ५०४ मतसहित उनीसँग प्रतिस्पर्धामा छन् ।

महानगरपालिकामा हालसम्म वडा नम्बर १, २, ३, ४, ५, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सम्पन्न भएको छ । कुल ३२ वटा वडा रहेको यस महानगरपालिकामा अन्य वडाको मत परिमाण आउन बाँकी छ ।

पर्सामा कुल १४ पालिका छन् । तीमध्ये केही पालिकाको मतपरिणाम निम्न छन्ः

बहुदर माई नगरपालिका
बहुदरमाई नगरपालिकाको नगरप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार सिंगासन साह तेली निर्वाचित भएका छन् । तेलीले छ हजार चार मत पाएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार शिवप्रसाद पटेलले पाँच हजार ६५८ मत प्राप्त गरे ।

यसैगरी उपप्रमुख पदमा एमालेकी उम्मेदवार सुस्माकुमारी कुशवाहा निर्वाचित भइन् । छ हजार ४४० मतका साथ कुशवाह उपाध्यक्षमा पदमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सोनामती देवी यादवले पाँच हजार ५२५ मत प्राप्त गरिन् ।

पोखरिया नगरपालिका
यस नगरपालिकाको नगर प्रमुख पदमा एमालेका उम्मेदवार प्रद्युम्न चौहान विजयी भएका छन् । चौहानले पाँच हजार ३२४ मत प्राप्त गरी विजयी हासिल गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार एवं निवर्तमान प्रमुख दीपनारायण रौनियारले तीन हजार १२१ मत प्राप्त गरे ।

यस्तै, उपप्रमुखमा पनि एमालेकै उम्मेदवार रुवीकुमारी ठाकुर पाँच हजार १९५ मतका साथ विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी रेहना खातुनले तीन हजार ९२९ मत प्राप्त गरे ।

विन्दवासिनी गाउँपालिका
विन्दवासिनी गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार प्रमोद तिवारी विजयी बने ।

तिवारीले चार हजार १४१ मत ल्याएर विजयी प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार विवेक चौरसिया तीन हजार ४६८ मत हासिल गरे ।

त्यस्तै, उपाध्यक्ष पदमा एमालेकी उम्मेदवार ज्योतिदेवी चौरसिया विजयी भएका छन् । चौरसियाले दुई हजार ३६६ मत ल्याएर विजयी बने भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुनिता चौरसियाले दुई हजार २८७ मत प्राप्त गरे ।

पकहामैनपुर गाउँपालिका
यस गाउँपालिकाको अध्यक्ष पदमा कांगे्रसका उम्मेदवार सुरेशप्रसाद मेहता निर्वाचित भएका छन् । मेहताले चार हजार ६८५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं जसपाका उम्मेदवार विजयकुमार चौरसियाले दुई हजार ५२९ मत प्राप्त गरे । उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार सरफुन नेशा चार हजार १४१ मतसहित निर्वाचित भएका छन् । निकटतम् प्रतिद्वन्द्वी एमालेकी निर्मला कुमारी चौरसियाले एक हजार ८७२ मत प्राप्त गरिन् ।

जिराभवानी गाउँपालिका
जिराभवानी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार अनोज चौधरी निर्वाचित भएका छन् । चौधरीले चार हजार ५६० मत गरे । उनका निकटतम् प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष एवं एमालेका उम्मेदवार रामप्रित महतोले तीन हजार २९९ मत प्राप्त गरे ।

यसैगरी उपाध्यक्ष पदमा पनि कांग्रेसकी उम्मेदवार रेखा चौधरी विजयी बनेकी छन् । चौधरीले चार हजार ७१० मत प्राप्त गरिन् भने उनका निकटतम् प्रतिद्वन्द्वी निवर्तमान उपाध्यक्ष एवं एमालेकी उम्मेदवार उषादेवी थरुनीले दुई हजार ९६५ मत प्राप्त गरिन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board