पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बारामा प्रदर्शन

बारा । पछिल्लो समय सरकारले हप्तैपिच्छे पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै बारामा विरोध प्रदर्शन भएको छ ।

नेकपा (एमाले) निकट भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) बारा र राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटिले मंगलबार बिरोध प्रदर्शन गरेको हो ।

अनेरास्ववियू र युवा संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा मोटरसाइकल, स्कुटर र अटो डोर्याएर सांकेतिकरुपमा विरोध गरेका हुन् । हरेक हप्ता पेट्रोलियम पदार्थको मूल्यवृद्धिले प्रत्यक्ष रुपमा सबै जनतालाई असर गरिरहेकाले मूल्यवृद्धिविरुद्धमा पार्टी नहेरेर सबैजना एकजुट भएर लाग्न एमालेका युवा नेता जयराम कुवरले आग्रह गरे ।

यस्तै, मूल्यवृद्धिको विरुद्धमा आगामी दिनमा समेत राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले पनि बाराका विभिन्न स्थानमा एकसाथ विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।

मूल्यवृद्धिबाट लाखौँ विद्यार्थी मात्रै नभइ जनसमुदायमाथि सिधा प्रहार भएकोले यसलाई स्वीकार्न नसकिने एमाले निजगढका सचिव तिलक घलानले बताए । यस्तै, उपभोक्ता, विद्यार्थी, श्रमजीवि वर्गमाथि मूल्यवृद्धिले पारेको असरप्रति जिम्मेवार बन्न र मूल्यवृद्धि खारेज गर्न समेत अनेरास्ववियू र युवा संघले माग गरेको छ ।

पहिले कोभिड–१९ का कारण लामो समयदेखि अप्ठ्यारो भोगिरहेका नेपाली जनताको अब पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ढाड सेक्ने काम भइरहेको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य इराज कोइरालाले बताए । उनले उपभोक्ता, विद्यार्थी, श्रमजीवि वर्गमाथि मूल्यवृद्धिले पारेको असरप्रति जिम्मेवार बन्न र मूल्यवृद्धि खारेज गर्न समेत सरकारलाई आग्रह गरे ।

नेपाल आयल निगमले सोमबार मध्यरातदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर १० रुपैयाँ वृद्धि गरेको थियो भने यस्तै, ग्यासमा पनि प्रतिसिलिन्डर २०० रुपैयाँ बढाएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board