काठमाडाै, १७ जेठ । जनता समाजवादी पार्टी, नेपालकी सांसद रेनुका गुरुङले सरकारको आगामी आर्थिक वर्षको बजेटलाई चुनावी बजेट भन्नु सान्दर्भिक नहुने बताएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गुरुङले सरकारले प्रस्तुत गरेको आ.व. २०७९/८०को बजेटलाई चुनावी बजेट भन्नु सान्दर्भिक नहुने बताएका हुन् । उनले राज्यको दायित्वको रुपमा किसानलाई पेन्सन योजना, मृगौला प्रत्यारोपण तथा पक्षघात भएका विरामीलाई औषधि उपचारको लागि खर्च, भुमिहिनलाई आवास निर्माण, जेष्ठ नागरिकलाई सामाजिक सुरक्षामा वृद्धि र राष्ट्रसेवक कर्मचारीको तलवमा वृद्धि गरिएको स्पष्ट पारेका छन् ।
उनले भने,‘बजेटमार्फत किसानलाई योगदानमा आधारित पेन्सन योजना ल्याउनु, मृगौला प्रत्यारोपण तथा डायलाइसिस गरिरहेका, सबै प्रकारको क्यान्सर रोग निदान भएका र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि उपचार खर्चवापत् मासिक पाँच हजार प्रदान गर्नु, भूमिहिन तथा सुकुम्बासी जनतालाई आवास निर्माणमा सहयोग पुर्याउने, जेष्ठ नागरिकलाई दिइने सामाजिक सुरक्षा भत्ताको दायरा फराकिलो बनाउने र समय अनुकुल राष्ट्रसेवक कर्मचारीहरुको तलवमानमा वृद्धि गर्ने सरकारको नीतिलाई पपुलिष्ट तथा चुनावी बजेट भन्न त्यति सान्दर्भिक नहुने व्यहोरा अनुरोध गर्न चाहान्छु । यसलाई सबै राजनीतिक दलले राज्यको दायित्वको रुपमा बुझ्न आवश्यक छ ।’
उनले यो बजेटले जनताको आर्थिक तथा सामाजिक स्तरमा अभिवृद्धि गर्न, स्वदेशमा औद्योगिक उत्पादन बढाउन, आयात घटाउन, निर्यात वृद्धि गर्न र पूर्वाधारमा लगानी बढाउन महत्वपूर्ण भुमिका खेल्ने बताए ।
COMMENTS