रुकुम पूर्व । रुकुम (पूर्व) मा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको सिस्ने गाउँपालिका–४ स्थित दादीङमा ट्याक्टरमा सवार दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
वडा नम्बर ४ कै कोम्बोटबाट गिट्टी लोड गरेर दादीङतर्फ आउँदै गरेको रा१त १६१६ नम्बरको ट्याक्टरमा सवार दुई जनाको शुक्रबार साँझ दादीङ रोडमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ ।
मृत्यु हुनेमा सिस्ने–४ दादीङकै १५ वर्षका आकाश बुढा र सोही ठाउँकै ५० वर्षीया नन्दी बुढा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का प्रहरी निरीक्षक एवं सूचना अधिकारी कृष्ण खत्रीले जानकारी दिए । उनका अनुसार दुई जना घाइते भएका छन् । घाइतेको रुकुम(पूर्व) अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए ।
चालकको भने नाम ठेगाना नखुलेको र फरार रहेको प्रहरीले बताएको छ । प्रहरी निरीक्षक खत्रीले भने, “ट्याक्टर सडकमै हाइड्रोलिक उठेको अवस्थामा छ । सडकदेखि तल पनि खसेको छैन तर, दुई–दुई जनाको ज्यान गएको छ । ट्याक्टरको पछाडिको भागमा बसेका उनीहरु आत्तिएर हाम फालेको नि हुनसक्छ, झर्ने बेलामा आत्तिएको नि हुनसक्छ ।” घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए ।
COMMENTS