आज मध्यमर्स्याङदी, माथिल्लो मर्स्याङदी र न्यादीको विद्युत् उत्पादन बन्द हुने

काठमाडौँ । आज तीन वटा जलविद्युत् आयोजनाको विद्युत् उत्पादन ठप्प हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङदी, ५० मेगावाटको माथिल्लो मर्स्याङदी, ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट आइतबार विद्युत् उत्पादन नहुने भएको हो । ती विद्युतगृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् उत्पादन बन्द हुने छ ।

गत वर्ष १९ असारमा आएको पहिरोले ढालेको मध्यमर्स्याङदी–मर्स्याङदी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्नका लाइन बन्द (सट डाउन) गरिएको हो । प्रसारण लाइन सट डाउन भएपछि उक्त लाइनमा जोडिएका विद्युतगृहबाट विद्युत् उत्पादन बन्द हुने छ ।

पहिरोले मध्यमर्स्याङदी–मर्स्याङदी प्रसारण लाइन अन्तर्गत लमजुङको राइनास नगरपालिका–८, माझीगाउँस्थित ९ नम्बर टावर ढालेको थियो । प्राधिकरणले आपत्कालीन पुनर्स्थापना प्रणाली (इआरएस) जडान गरी गत वर्षको २ साउनबाट प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो ।

अहिले उक्त स्थानमा नयाँ टावर निर्माण गरिएको छ । आइतबार इआरएस हटाई नयाँ टावरमा तार टाँगिने छ । यसका लागि उक्त प्रसारण लाइन सट डाउन गरिने छ । यसबाट यस प्रसारण लाइनमा जोडिएका जलविद्युतगृहबाट उत्पादित विद्युत पनि बन्द हुने छ । करिब १५० मेगावाट विद्युत् उत्पादन बन्द हुने भएपछि प्राधिकरणले वैकल्पिक व्यवस्था गरी उपभोक्तालाई विद्युत् आपूर्ति गर्ने जनाइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board