काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर दीर्घकालीन रूपमा व्यवस्थापन गर्न सरकारले बन्चरेडाँडामा ल्याण्डफिल साइट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दुई वटा सेलमध्ये सेल वानमा फोहोर विसर्जन गर्ने कार्य सुरु भइसकेको छ ।
सहरी विकास मन्त्रालयअन्तर्गत रहेको सहरी विकास तथा भवन निर्माण विभागले ल्याण्डफिल साइट निर्माण गरेको हो । विभागले सेल वानलाई फोहोर विसर्जन मिल्ने गरी हस्तान्तरण गरिसकेको छ भने सेल टुको काम अन्तिम चरणमा पुर्याएको छ ।
विभागले निर्माण सम्पन्न गरेर पनि काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गर्ने छ । तर, काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन्द्र साहले पनि आयोजना सञ्चालन गर्ने विषयमा आयोजित कार्यक्रमप्रति नै बेवास्ता गरेका छन् । साहकै आग्रहमा सहरी विकास तथा भवन निर्माण विभागले आयोजना गरेको ल्याण्डफिल साइटबाट बगेको लिचेट प्रशोधनपश्चात् प्रयोग गर्न सकिने प्रविधि प्रयोग कार्यक्रममा अनुपस्थित भएका हुन् ।
नगरप्रमुख साहकै आग्रह गरिएको कार्यक्रममा सहभागी नभए पनि बन्चरेडाँडा ल्याण्डफिल साइटबाट संकलित लिच्चड प्रशोधनमार्फत् प्रयोग गर्न सकिने गरी परीक्षण सफल भएको बन्चरेडाँडा ल्याण्डफिल साइट आयोजनाले बताएको छ ।
बन्चरेडाँडा ल्याण्डफिल साइटको दुई वटा सेलमा विसर्जन गरिने फोहोरबाट निस्कने दूषित पदार्थ (लिच्चड) जम्मा गर्नका लागि २० हजार घनमिटर क्षमताको दुई वटा ट्यांकी निर्माण गरिएको छ । पोखरीमा जम्मा भएको लिच्चडलाई सदुपयोग गर्न सकिने गरी प्रविधिको प्रदर्शनी गरिएको बन्चरेडाँडा ल्याण्डफिल साइटका आयोजना निर्देशक रवीन्द्र बोहराले बताए ।
उनका अनुसार उक्त लिच्चड प्रशोधनपछि माछा पालनका लागिसमेत प्रयोग गर्न सकिने छ । बोहराले भने,‘बन्चरेडाडाँ ल्याण्डफिल साइटमा फोहोर फाल्न थालेपछि त्यहाँ उत्पन्न लिच्चडले २० हजार घनमिटर ट्यांकी भरिएको छ । यसलाई प्रशोधित गरी सदुपयोग गर्न सकिन्छ भनेर प्रदर्शनी आयोजना गरिएको हो ।’
गत बिहीबार सहरी विकासमन्त्री मेटमणि चौधरीसहित मन्त्रालयमा भएको कार्यक्रममा लिच्चड व्यवस्थापनको प्रविधिको बारे जानकारी लिँदै मेयर बालेन्द्र साहले प्रदर्शनी आयोजना गर्न आग्रह गरेका थिए । आयोजनाले ल्याण्डफिल साइटलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्न आयोजित प्रदर्शनी कार्यक्रम साह अनुपस्थित हुँदा डिजाइन अनुसार फोहोर विसर्जन हुनेमा आशंका व्यक्त गरेको छ ।
प्रविधि प्रदर्शनी गर्न लगाएर आफैँ नआउँदा उक्त प्रविधिको कार्यान्वयन नै अलपत्र परेको हो । उक्त प्रविधि प्रदर्शनीका लागि भारतको चेन्नइबाट विज्ञ टोली समेत डाकिएको थियो । उक्त प्रविधि प्रयोग महानगरले लिच्चड व्यवस्थापन गरेको अवस्थामा आर्थिक दायित्व दायित्व महानगरले नै व्यहोर्नु पर्ने छ ।
यस्तो महत्त्वपूर्ण कार्यक्रम आयोजना गर्न लगाएर आफैँ उपस्थित नहुँदा मन्त्रालय र विज्ञले भने चित्त दुखाएका छन् । बालेन्द्रले कार्यक्रम आयोजना गर्न लगाएर झन्डै ६ घन्टा कुर्दा पनि पनि नआएको मन्त्रालयको टोली र विज्ञ टोली खिन्न बनेको थियो ।
शनिबार स्वास्थ्य, वातावरण र जलवायु फाउन्डेसनले बन्चरेडाँडाको लिच्चड संकट र प्रशोधन गरी प्रयोग गर्न योग्य बनाएको थियो । फाउन्डेसनका निर्देशक महेश नकर्मीले यसअघि संस्थाले थुप्रै अस्पतालको लिच्चडसमेत प्रशोधन गरी प्रयोगयोग्य बनाइसकेको जानकारी दिए । उनले काठमाडौँ महानगरपालिकाले प्रविधि प्रयोग गर्न चाहे नेपालमा मेसिन भित्र्याइने जनाकारी दिए ।
COMMENTS