काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसूचक ४६.०८ अंकले घटेको छ ।
यो दिन नेप्से परिसूचक २ हजार ३०.५९ बिन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २२९ ओटा धितोपत्रको ८६ लाख १३ हजार ४८९ कित्ता सेयर ४९ हजार ४१६ पटकमा २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२३ मा खरिद बिक्री भएको छ । गत सोमबार पनि नेप्से परिसूचक ९.७५ अंक घटेको थियो ।
कारोबारमा आएका २२९ ओटा धितोपत्रमध्ये सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र ङादी ग्रुप पावर लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यसैगरी यो दिन सबैभन्दा बढी घलेम्दी हाइड्रो लिमिटेडका सेयरधनीले गुमाएका छन् । कम्पनीको सेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ६.६० प्रतिशत घटेको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता २११ मा झरेको हो । त्यसैगरी दोस्रोमा दिब्यश्वरी हाइड्रोपावरको सेयरमूल्य ५.९२ प्रतिशत घटेर २०५ कायम भएको छ ।
यो दिन सर्वाधिक खरिद बिक्री सानिमा बैंकको प्रमोटर सेयरको भएको छ । कम्पनीको ३० करोड २० लाख बराबरको सेयर खरिद बिक्री भएको हो । कम्पनीको प्रमोटर सेयरको मूल्य प्रतिकित्ता १५१ कायम भएको छ ।
त्यसैगरी, सर्वाधिक सेयर खरिद बिक्री हुने दोस्रोमा अरुण काबेली पावर रहेको छ । उक्त कम्पनीको ११ करोड ८२ लाख बराबरको सेयर खरिद बिक्री भएको छ ।
कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक समग्र घटेसँगै नेप्से परिसूचक घटेको हो । १३ ओटा समूहमध्ये सबैभन्दा बढी व्यापार समूहको परिसूचक ३.८८ प्रतिशतले घटेको छ । यो दिन कुल बजार पुँजीकरण २८ खर्ब ९६ अर्ब कायम भएको छ ।
COMMENTS