पाल्पा ‘पूर्ण खोप’ सुनिश्चितता घोषणा

पाल्पा । पाल्पा जिल्लालाई ‘पूर्ण खोप’ सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्लाका दशवटै पालिकाले पूर्ण खोप सुनिश्चितता गरेसँगै बिहीबार पाल्पालाई खोप सुनिश्चितता घोषणा गरिएको हो ।

पूर्ण खोप सुनिश्चितताका लागि ९५ प्रतिशत सूचांक पूरा गर्नुपर्ने हुन्छ । जिल्लाका सबै स्थानीय तहले ९५ प्रतिशत सूचांक पूरा गरेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले पूर्णरूपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्र गिरीले बताए ।

प्रमुख डा.गिरीका अनुसार जिल्लाका तीन हजार ५८६ बालबालिकाले पूर्णरूपमा खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । यो अभियानमा १६ देखि २३ महिनासम्मका छुटेका बालकालिकाहरुलाई समेत खोजेर पूर्णरूपमा खोप सुनिश्चितता गरिएको छ ।

राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ वटा खोप प्रदान गरिन्छ । यसअघि बालबालिकालाई १२ वटा मात्रै खोप प्रदान गरिँदै आएकोमा यस वर्षदेखि टाइफाइडविरुद्धको खोप थप भएको हो ।

स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनका आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जनाइएको छ । पाल्पालाई यसअघि २०७० फागुन १३ गते पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको थियो । हरेक वर्ष जिल्लालाई पूर्ण खोप सुनिश्चितता गर्नुपर्ने प्रावधान रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board