पोखराका मेयर आचार्यसँग ४३ करोड ६१ लाख सम्पत्ति

काठमाडौँ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । बुधबार उनले सार्वजनकि गरेको सम्पत्ति विवरण अनुसार उनी झन्डै आधा अर्बको मालिक देखिएका छन् ।

अभिभावक र सन्तानका नाम भएको सम्पत्ति उल्लेख नगरी आचार्यले आफ्नो श्रीमतीको नाममा रहेको सम्पत्ति विवरण मात्र पोखरा महानगरपालिकाको वेवसाइटमा उल्लेख गरेका छन् ।

सार्वजनिक गरेको विवरणअनुसार मेयर आचार्यसँग ४३ करोड ६१ लाख ४५ हजार ६१६ रुपैयाँ बराबरको सम्पत्ति छ । जसमा उनले २ करोड ८५ लाख रुपैयाँ बैंक, वित्तीय कोष, नातेदार र मित्रसँग ऋण लिएको उल्लेख गरेका छन् । ऋण घटाउँदा उनीसँग खुद सम्पत्ति ४० करोड ७६ लाख ४५ हजार ६१६ रुपैयाँ रहेको आचार्यको सम्पत्ति विवरणमा छ ।

आचार्यको पोखरा र काठमाडौँमा ४ वटा घर छन् । पोखरा महानगरपालिका–९ मा श्रीमती पुष्पाकुमारी आचार्यको नाममा २८९ वर्गमिटर जग्गामा बनेको दुई वटा घर छन् । त्यसको बजार मूल्य नौ करोड २५ लाख रहेको आचार्यले उल्लेख गरेका छन् । श्रीमतीकै नाममा काठमाडौँ महानगरपालिका–४ स्थित सीतापाइलामा ९२५ वर्गफिटमा बनेको एक करोड ८५ लाख रुपैयाँ पर्ने घर छ । मेयर आचार्यको नाममा दोलखामा ८७ लाख रुपैयाँ पर्ने ५८ रोपनी ७ आना जग्गा र पोखरामा ३ करोड ५० लाख पर्ने जग्गा छ ।

मेयर आचार्यले सबैभन्दा धेरै रकम सेयरमा रहेको उल्लेख गरेका छन् । विभिन्न कम्पनीमा सेयर र लगानी गरेर २५ करोड ९९ लाख ४५ हजार ६१६ रुपैयाँ रहेको उनले विवरणमा भरेका छन् । आचार्य विभिन्न जलविद्युत् आयोजनाका लगानीकर्ता छन् भने करिब एक दर्जन व्यावसायिक संस्थामा आबद्ध छन् ।

विवरणमा मेयर आचार्यले टोयोटा कार, रेनल्ट क्विड कार, ओम्नी भ्यान, सुजुकी स्विफ्ट कार गरी चार वटा गाडी र तीन वटा स्कुटर रहेको उल्लेख गरेका छन् । गाडी र स्कुटरको बजार मूल्य दुई करोड रहेको विवरणमा उल्लेख छ ।

विभिन्न बैंकमा १५ लाख नगद रहेको उल्लेख गरेका छन् । यस्तै, उनीसँग ५ तोला हिरा, ५४ तोला सुन र ३८ तोला चाँदी रहेको उल्लेख गरेका छन् । उनले यो विवरणमा बाबुको नाममा रहेको सम्पत्ति समावेद नगरेको जनाएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board