कुकुर आतंक : खोटाङमा तीन महिनामा ८९ जनालाई टोक्यो

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा सार्वजनिक कुकुरको आतंक फैलिएको छ । गत वैशाखदेखि हालसम्म कुकुरको टोकाइबाट ८९ जना घाइते भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार यस अवधिमा ४४ महिला र ४५ पुरुष घाइते भएका हुन् । गम्भीर घाइते ६ जनालाई काठमाडौँ रेफर गरिएको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता टेकेन्द्र राजभण्डारीले बताए ।

केही दिनअघि ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीमा घर पालुवा कुकुरले ५ जनालाई टोकेको छ । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क रैकरमा भैँसी, गोरु र खसीलाई कुकुरले टोकेर घाइते बनाएको छ । कतिपय घाइतेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । कतिपय कुकुरले घर पालुवा पशु तथा चौपायलाई गोठमै गएर आक्रमण गर्नेगरेको स्थानीय बताउँछन् । हुल बाँधिएर हिँड्ने कुकुरले खसी, गोरु, गाई, भैँसी, भेडालगायतलाई आक्रमण गर्नेगरेका छन् । गत चैतमा ऐसेलुखर्कको चित्रेमा कुकुरले टोकेको भैँसी र गोरु मरेको राजभण्डारीले बताए ।

कुकुर आतंकका कारण गाउँपालिकाबासी त्रसित छन् । बेवारिसे अवस्थामा हिँड्डुल गर्ने कुकुरले टोक्न थालेपछि विद्यार्थीलाई आवत–जावत गर्न, स्थानीयलाई हाटबजार गर्न, मेलापात जान समस्या हुन थालेको छ । कुकुरको आतंक बढेसँगै गाउँपालिकाले १० साउनमा विज्ञाप्ति जारी गर्दै घर पालुवा कुकुरलाई बाँधेर राख्न, साँझको बेला हिँड्डुल गर्दा सावधानी अपनाउन, आफ्नो सुरक्षा आफैँ गर्न आह्वान गरेको छ ।

कुकुरले टोक्न थालेपछि वडा–वडामा कुकुरलाई रेबिजविरुद्धको खोप दिइएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board