काठमाडौँ २९ भदौ । महाअभियोग सिफारिस समितिले बार पदाधिकारी, अधिवक्ता र पूर्वप्रधान न्यायाधीशहरूलाई समितिमा बोलाउने भएको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा नाम लिएका पूर्वप्रधान न्यायाधीश, बार पदाधिकारी र न्यायाधीशहरूलाई बोलाउने निर्णय गरेको महाअभियोग सिफारिस समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।
समितिले अहिले को–कसलाई बोलाउने भनेर नाम संकलन गरिरहेको उनले बताए । बिहीबार बस्ने समितिको बैठकमा विभिन्न समयमा अधिवक्ता, बार पदाधिकारी र पूर्व प्रधानन्यायाधीशहरूलाई बोलाउने समय निर्धारण गर्ने उनको भनाइ छ । ‘निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश जबराले बयानमा नाम लिएका कानुन व्यवसायीहरूलाई स्पष्टिकरणका लागि बोलाउने भएको छ । बयानमा जसको नाम लिनुभएको छ, ती कुरालाई हेरेर त्यसको नाम हामी संकलन गर्दैछौँ,ु उनले भने, ुती व्यक्तिहरूलाई बोलाउने समितिले निर्णय गरेको छ । बार पदाधिकारी, अधिवक्तालगायत केही व्यक्तिहरूलाई बोलाउने भन्ने कुरा भएको छ । भोलि विभिन्न समय दिएर, अधिवक्ताहरूको एउटा समय, बार पदाधिकारीको अर्को समय गरेर बोलाउने भन्ने निर्णय भएको छ । पूर्व प्रधानन्यायाधीशहरूलाई अर्को समय छ ।’
प्रधानन्यायाधीश जबराले न्यायाधीश, पूर्वप्रधान न्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूको नाम लिएका थिए । उनीहरू सबैलाई बोलाउन पत्राचार गर्ने निर्णय बैठकले गरेको छ ।
COMMENTS