दमौली, १६ असोज । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा जिल्ला प्रशासन कार्यालय तनहुँले हातहतियार बुझाउन आग्रह गरेको छ ।
प्रशासन कार्यालयले एक सूचना जारी गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह गरेको हो ।
निर्वाचनपश्चात फिर्ता हुने गरी अगामी कात्तिक ४ गतेसम्म नजिकको प्रहरी एकाइमा हातहतियार बुझाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयमा इजाजत लिएका सात सय ९५ हतियार रहेका छन् । तत्कालीन गाउँ पञ्चायत र अहिलेको गृह मन्त्रालयसँग स्वीकृत लिइएका हतियारको संख्या जिल्लामा सात सय ९५ रहेको छ । त्यसमध्ये पाँच सय ६७ भरुवा बन्दुक र दुई सय २८ राइफल रहेको प्रशासनले जनाएको छ ।
हातहतियार खरखजाना ऐन, २०१९ अनुसार अवैध हातहतियार राखेको पाइए एक वर्षदेखि तीन वर्षसम्म कैद र तीन हजारदेखि ६० हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।
“चुनावलाई सुरक्षित र भयरहित बनाउनका लागि सबै हतियार बुझाउन आग्रह गरेका छौँ”, उनले भने, “चुनावपछि हतियार पुनः फिर्ता गरिने भएकाले जतिसक्दो छिटो नजिकको प्रहरी कार्यालयमा हतियार बुझाउन अनुरोध छ ।”
COMMENTS