काठमाडौँ, ४ मंसिर । काठमाडौँका १० स्थानमा मतगणना हुने भएको छ । १० वटै क्षेत्रको मतगणना अलग–अलग स्थानमा हुने जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जानकारी दिएको छ। कार्यालयका अनुसार मतपेटिका संकलनपछि आइतबारै रातिदेखि मतगणना प्रारम्भ गर्ने तयारी छ ।
काठमाडौँ–१ को मतगणना बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिरमा, ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा विद्यालयमा र क्षेत्र नम्बर ४ को बुढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवनमा हुने छ ।
काठमाडौँ–५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा, काठमाडौँ–६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा, काठमाडौँ–७ को बालाजुस्थित जुडो हलमा र काठमाडौँ–८ को स्वयम्भूस्थित गीतामाता विद्यालयमा गणना हुने छ ।
यसैगरी, काठमाडौँ–९ को रविभवनस्थित न्याथम कलेजमा र काठमाडौँ–१० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना गर्ने तयारी छ ।
काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार मतपेटिका संकलनको काम सुरु भएको छ । काठमाडौँमा ५५ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ ।
COMMENTS